नियम ८
करारको वैधता र प्रभावकारिता तथा मध्यस्थको क्षेत्राधिकारवारे उजुरी र कारबाही
(१) ऐनको दफा १६ को उपदफा (१) बमोजिम मध्यस्थले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले सोही दफाको उपदफा (२) बमोजिम पुनरावेदन अदालतमा निवेदन दिंदा देहायका कुराहरु उल्लेख गर्नु पर्नेछः –
(क) निवेदक र विपक्षीको नाम, थर, वतन, कारोबारको ठेगाना सहित सूचना तामेल गर्न सहायक हुने अन्य विवरण,
(ख) मध्यस्थको नाम, थर, वतन र कार्यालय रहेको स्थान,
(ग) सम्झौताको संक्षिप्त विवरण,
(घ) मध्यस्थको क्षेत्राधिकार वा करारको वैधता वा प्रभावकारिता के विषयमा जिकिर लिएको हो सो कुरा तथा सो पुष्टि हुने आधार र प्रमाणहरु,
(ङ) प्राप्त गर्न खोजेको उपचार,
(च) ऐनको दफा १६ को उपदफा (१) बमोजिम भएको निर्णयको प्रमाणित प्रतिलिपि र संझौताको प्रतिलिपि संलग्न छ भन्ने कुरा ।
(२) उपनियम (१) बमोजिम परेको उजुरीको प्रारम्भिक सुनुवाई गर्दा मध्यस्थको निर्णय फरक पर्ने देखिएमा सो व्यहोराको पर्चा खडा गरी बिपक्षीलाई मनासिब माफिकको समय प्राप्त हुने गरी सुनुवाईको मिति तोकी उपस्थितिको लागि आदेश जारी गर्नेछ ।
(३) उपनियम (२) बमोजिम तोकिएको मितिमा पुनरावेदन अदालतले पक्षहरु उपस्थित भए उनीहरुको कुरा समेत सुनी उपलव्ध सवुद प्रमाण हेरी निवेदन परेको मितिले सामान्यतया तीस दिन भित्र कारबाहीको टु·ो लगाउने छ र सो कुराको सूचना मध्यस्थलाई दिनेछ ।